मिडियामैत्री नीति बनाएर वजेट ल्याउछौँः मन्त्री नेपाली

सुर्खेत,कर्णाली प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीले कर्णालीमा पत्रकारिताको संरक्षण तथा पत्रकारहरुको क्षमता विकासमा प्रदेश सरकारले मिडियामैत्री नीति निर्माण गर्ने प्रतिबद्धता जनाएकी छन्। मिडिया एक्सन नेपाल कर्णाली प्रदेशले सोमबार आयोजना गरेको ‘मिडियाको विश्वसनियता र आचारसहिंता कार्यान्वयन’ विषयक वेबिनार कार्यक्रममा मन्त्री नेपालीले उक्त प्रतिबद्धता जनाएकी हुन्।

राज्य व्यवस्था तथा समाजमा भएका नकरात्मक पक्षकाविरुद्ध रचनात्मक आलोचना गर्दै सही मार्गमा लैजान पत्रकारहरुको भूमिका अहम् हुने भन्दै यसका लागि पत्रकार आफूले पनि अनुसन्धानमा जोड दिई सत्य, तथ्य सूचना प्रवाहमा पत्रकारहरुले महत्वपूर्ण भुमिका खेल्न आग्रह गरिन । कर्णालीमा रहेका सञ्चार माध्ययम र यहाँ कार्यरत सबै पत्रकारहरुलाई न्याय हुनेगरी सरकारले नीति बनाउने बताउँदै आगामी बजेटमा पनि पत्रकारिता क्षेत्रलाई सम्बोधन हुने गरी बजेट ल्याउने तयारी भएको बताइन।

यस्तै कार्यक्रममा कर्णालीका सक्रिय पत्रकारहरुले पत्रकार आचारसहिंताको कार्यान्वयनमा गम्भिर भएर लाग्ने प्रतिवद्धता जनाएका छन्। प्रदेशका १० वटै जिल्लाका पत्रकार महासंघका पदाधिकारी र पत्रकारहरुको सहभागिता रहेको उक्त कार्यक्रममा पत्रकारहरुले मिडियाको दिगोपना,पत्रकारको क्षमता विकास तथा आचारसंहिताबारे जानकारी गराउँन प्रदेश सरकार र पत्रकार महासंघले विभिन्न तालिम तथा सेमिनारको आयोजना गर्नुपर्नेमा जोड दिएका छन् । पत्रकार महासंघ कर्णालीका अध्यक्ष देवीराम देवकोटाले पत्रकार आचारसंहिताको पालनाबारे अनुगमन गर्ने र क्षमता विकासका लागि आवश्यक तालिम संचालन गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय आमसंचार तथा पत्रकारिता विभागका प्रमुख युवराज शर्माले मिडिया तथा पत्रकारले आचारसंहिता भित्र रहेर काम गर्न सकेमात्र जनतामा मिडियाप्रतिको विश्वसनियता बढ्ने बताए । जसका लागि पत्रकारले आचारसंहिताबारे जानकारी राख्नैपर्ने उनको भनाइ छ ।यस्तै मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले पत्रकार आफूले आचारसंहिता पालना गर्ने हो भन्दै पत्रकारितामा आउन खोजेका नयाँ पिढीलाई आचारसंहिता सिकेरमात्र आउन आग्रह गर्दै पत्रकार आचारसंहिता कार्यान्वयन र पत्रकारको क्षमता विकासका लागि विभिन्न तालिम सञ्चालन गरिनु पर्ने बताए ।

कर्णालीका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले पत्रकारिताको दिगोपना, आचारसंहिता कार्यान्वयनको अवस्था र मिडियाको विकासका लागि प्रदेश सरकार र पत्रकार महासंघले मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । मिडिया एक्सनले आयोजना गरेको कार्यक्रममा ५७ जना पत्रकारको सहभागिता रहेको थियो ।