दैलेखमा निषेधाज्ञा असार १० सम्म

दैलेख,दैलेख जिल्लामा असार १० गतेसम्मका लागि निषेधाज्ञा बढाइएको छ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले असार १० गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो। आज राति १२ बजेदेखि असार १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रजिअ प्याकुरेलले बताए।

यही जेठ २१ गतेदेखि जारी निषेधाज्ञा पुनः थप गरिएको हो। दिनहुँ सङ्क्रमितको सङ्ख्या बढदै गइरहेकाले सङ्क्रमण रोकथामका लागि पुनः निषेधाज्ञा थप गरिएको उनले बताए। अहिलेको निषेधाज्ञामा पहिलेभन्दा थोरै खुकुलो पारिएको छ । दैनिक उपभोग्यवस्तु किनमेल गर्न बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म खाद्य पसल खुल्ने छन्। त्यस्तै बैंक पनि खुला रहनेछन्।