तलब नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित

काठमाडौं,चार महिनादेखि तलब नपाएको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सोमबार बिहान प्रशासन शाखामा जम्मा भएर उनीहरुले नियमित तलब,कोभिडको जोखिम भत्ता लगायतको माग राखेका छन्।

नेपालगञ्ज मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका अध्यक्ष कुश्माखर बस्यालले माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने बताएका छन्।‘असार २ गतेभित्र व्यवस्थापन पक्षले तलब भत्ता लगायतका हाम्रा माग पूरा नगरे कानुनी प्रक्रिया पूरा गरेर चरणबद्ध आन्दोलन गर्छौं’ उनले भने। फागुनयताको तलब भत्ता नपाएपछि आन्दोलित हुनुपरेको बस्यालले बताए । आन्दोलनमा उत्रिए पनि अस्पतालको नियमित काममा असर नपरेको उनले दाबी गरे।

कर्मचारी संगठनकी महासचिव रत्ना गिरीले कोभिडको समयमा काम गरेका डाक्टर, स्वास्थ्यकर्मी,सफाइकर्मी लगायतले तलब नपाएको बताइन् । ‘कोभिडमा ड्युटी गर्नुपर्छ, घर नजानुस्’ भनेर काम लगाएको व्यवस्थापन पक्षले अहिले तलब भत्ता नदिंदा कर्मचारीहरु मर्कामा परेको उनले बताइन्।

‘१० दिन ड्युटी गरेर सात दिन क्वारेन्टिनमा बस्न भनियो। तर क्वारेन्टिनमा बसेको अवधि बिदामा जनाइदिएर व्यवस्थापन पक्षले अन्याय गर्‍यो’, गिरीले भनिन्।