सिँधै राउटे वस्तीमा पुगेर राहत नदिन प्रशासनको आग्रह

सुर्खेत,राउटे समुदायभित्र गएर कुनै पनि प्रकारको राहत दिन बन्देज लगाएइको छ। कोरोना महामारी र राउटे समुदायमा भएको घटनाको संवेदनशीलतालाई मध्यनजर गरी बस्तीभित्र प्रवेश गरी राहत वितरण गर्ने कार्यलाई पूर्ण रुपमा बन्देज लगाएको हो।

राउटे समुदायका दुई युवतीहरूमाथि भएको दुव्र्यवहारको घटना र संवेदनशीलतालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको थियो। सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले अब समुदायमा वितरण हुने राहतको उचित व्यवस्थापन गर्न विभिन्न दाताहरुबाट राउटे समुदायको लागि आउने राहतलाई एकद्वार प्रणालीमार्फत वितरण गर्नुपर्ने बताएका छन्।

उनले भने, ‘समुदायका लागि प्राप्त हुने सबै प्रकारका नगदी तथा जिन्सी सामाग्री कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मौज्दात गरी सोको व्यवस्थित अभिलेख राख्नेछ ।’ गएको जेठ २४ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकको निर्णयबाट गठित सहजीकरण समितिले समुदायको लागि आवश्यकता पर्ने सामाग्रीको आँकलन गरी आवश्यकताअनुसार सो मौज्दातबाट उपलब्ध गराउने निर्णय गरेको थियो।

बैठकले दाताहरू आफै उपस्थित भई राहत उपलब्ध गराउन चाहेमा सोको अभिलेख सामाजिक विकास मन्त्रालयले राखी स्थानीय तह र सहजीकरण समितिको सदस्यको रोहबरमा मात्र बस्ती नजिक गई राउटे मुखियालाई उपलब्ध गराउनुपर्नेछ निर्णय गरेको छ ।