गण्डकी सरकारमा मनाङेले मागे गृह मन्त्रालय

काठमाडौं,विपक्षी गठबन्धनलाई बहुमत पुर्‍याउन निर्णायक बनेका दीपक मनाङेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय (गृहमन्त्री)मा दाबी गरेका छन्।प्रदेश प्रमुख सीता पौडेलले दिएको समय आज ३ बजे सकिएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने भएका छन्।

नेपालीलाई मुख्यमन्त्री बन्नका लागि मनाङेको समर्थन निर्णायक बनेको छ। उनले पृथ्वीसुब्बा गुरुङको सरकारमा युवा खेलकुद मन्त्रालय सम्हालेका थिए । मन्त्री पदमा रहेकै बेला विपक्षी गठबन्धनमा लागेपछि उनलाई गुरुङले बर्खास्त समेत गरे।कांग्रेस र माओवादी गठबन्धनका नेताहरुसँगको छलफलमा उनले आफूलाई गृह नभए अर्थ तथा योजना मन्त्री चाहिने बताएका छन्।

अरु मन्त्रालयमा बसेर काम गर्न नसकिने रहेछ भन्दै मनाङेले पुलिस चलाउन गृहमन्त्री हुन चाहेको बताएका छन्।मनाङेमाथिको ज्यान मुद्दा सर्वोच्च अदालतमा विचारधीन रहेको छ। प्रहरीले अहिले पनि आफूलाई राम्रो नजरले नहेर्ने भएकाले गृहमन्त्री बन्न चाहेको मनाङे निकट स्रोतले बताएका छन् ।विपक्षी गठबन्धनले भने उनलाई अरु मन्त्रालयमा मनाउन प्रयास गरिरहेको छ। नयाँ सरकार गठनपछि मात्र मन्त्रालयको बारेमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।