प्रदेश २ मा कांग्रेसका मन्त्रीले आर्थिक लेनदेन गरेको आरोप

जनकपुरधाम,प्रदेश २ सरकारमा सहभागी भएको नेपाली काँग्रेसका मन्त्री विवावदमा तानिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री बनेका काँग्रेस संसदीय दलका नेता रामसरोज यादवमाथि रकम चलखेल गरेको आरोप आफ्नै सांसदहरुले लगाएका छन्।

सांसदद्धय बिरेन्द्र सिंह र ओमप्रकाश शर्मा रकमको चलखेल गरी मन्त्री बनेको आरोप लागेपछि पार्टीमा विवाद बढेको छ । प्रदेश सभामा कांग्रेसका १९ सांसद छन्।जसमध्ये १२ जनासभापति शेरबहादुर देउवा र ७ सांसद बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका छन्। देउवा समूहबाटै यादव, सिंह र शर्मा मन्त्री बनेपछि पौडेल पक्षका सांसदहरु असन्तुष्ट बनेका छन्।

पार्टीमा छलफल नै नगरी संसदीय दलका नेता यादवले प्रदेश सरकारमा सहभागी हुने सम्झौता गरी मन्त्री बनेको आरोप सांसद नरेश यादवले लगाए।उनले भने, ‘मन्त्री बन्न ठूलो रकमको चलखेल भएको छ । पैसाको लेनदेन गरेर मन्त्री बनाइएको छ’ काँग्रेस उपसभापति बिमलेन्द्र निधीले मुख्यमन्त्री पाउनुपर्ने अडान लिएका थिए।

दलका नेता यादवले पनि मुख्यमन्त्रीसहित ५० प्रतिशत मन्त्री मागेका थिए । तर सुटुक्क सहमती गरेर आफूसहित तीनजनाले रातारात मन्त्रीको शपथ लिएको आरोप लागेको छ।असन्तुष्ट सांसदहरु आज जनकपुरमा बैठक बस्दैछन्। छलफल नै नगरी सरकारमा सहभागी भएको विषयमा असन्तुष्ट सबै सांसदहरु आपसमा छलफल गरी आवश्यक निर्णय लिने सांसद नरेश यादवले बताएका छन् ।