नेपालद्धारा सडकको काम रोक्न भारतलाई पत्राचार

काठमाडौं,जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली भू-भागलाई असर पर्ने गरी गरिएको सडक निर्माण रोक्न भारतलाई पत्राचार गरेको छ।भारतले महाकाली नदीवारि नेपालतर्फको बाटो भत्काउने र नदीको धार नै परिवर्तन हुने गरी सडक निर्माण गर्दा नेपालतर्फ क्षति भएको र बाटो बन्द हुँदा व्यास गाउँपालिकाका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको भन्दै प्रशासनले भारतलाई पत्राचार गरेको हो।दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारत पिथौरागढस्थित धारचुलाका जिल्ला अधिकारी आनन्द स्वरुपलाई नेपाललाई हानि पुग्ने गतिविधि रोक्न पत्राचार गरेको बताए।

जोशीले मंगलबारदेखि व्यास गाउँपालिका जाने बाटो अवरुद्ध भएपछि जथाभाबी सडक निर्माण नगर्न भारतलाई पत्राचार गरिएको र वैकल्पिक बाटोका लागि पहल भइरहेको बताएका छन्।‘सडक निर्माणमा भारतले ज्यादति गर्दै नेपाललाई दुःख दिएको र नेपालतर्फको बाटो नै बन्द भएपछि नेपाललाई नोक्सानी हुने गतिविधि नगर्न भारतलाई पत्राचार गरेका हौं,’ जोशीले भने।पत्रमा भारतका कारण महाकाली नदीको बहाव नेपालतर्फ धकेलिनुका साथै बाटोसमेत अवरुद्ध भएकाले त्यसलाई खुलाउन भारतीय पक्षलाई भनिएको छ। यद्यपि पत्रको जबाफ भने आएको छैन।

दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ र कल्जु गाउँ जोड्ने महाकाली किनारतर्फको घोडेटो बाटो मंगलबार भारतले पारिपट्टि सडक निर्माणका क्रममा चट्टान फोड्दा भत्किएको थियो।जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदीमा खसेका चट्टानलाई पन्छाएर नदीको बहाव यथावत् अवस्थामा फर्काउनुपर्ने जानकारी दिएको जोशीले बताए।भारतले मानसरोवरसम्म दुई लेनको सडक निर्माण कार्यलाई तीव्रता दिएको छ। भारतले सडक विस्तारका क्रममा महाकालीपारिको गर्वाधार क्षेत्रमा चट्टान फुटाउन बम विस्फोट गराउँदा नेपालतर्फको बाटो पूर्ण रुपमाअवरुद्ध भएको थियो।

ठूलाठूला चट्टान महाकाली नदीमा खसेपछि नदीले धार मात्रै परिवर्तन गरेको छैन, नेपालतर्फको भू-भाग तीव्र रुपमा कटान गरिरहेको छ। भारतले आफूखुसी सडक निर्माण गरे पनि नेपाल सरकारले भने यसबारे उचित कदम चाल्न सकेको छैन।दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले बाटो अवरुद्ध भएपछि व्यासवासीलाई आवतजावतमा समस्या भएकाले वैकल्पिक बाटो खुलाउने काम भइरहेको बताए।महाकाली नदीको प्राकृतिक बहावलाई अतिक्रमण गरी भारतले गैरकानुनी र एकतर्फी संरचना बनाउदै गएको भन्दै जोशीले आपत्ति जनाएका छन्।‘सडक निर्माण गर्दा नेपाललाई परेको असर प्रभावबारे गृह मन्त्रालय, परराष्ट्र मन्त्रालयको बारम्बार ध्यानाकर्षण गराएको भए पनि कुनै कदम चालिएन,’ जोशीले भने, ‘भारतलाई ज्यादति रोक्न पत्राचार गरे पनि जबाफ आएको छैन।’