वैद्यले फिर्ता लिए प्रधानमन्त्रीविरुद्धको अभिव्यक्ति

काठमाडौं,वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन्। शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित सो अभिव्यक्ति फिर्ता लिएका बताएका हुन्।

शुक्रबारको बैठकमा उनले प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यकता परे आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो भने उनकै पार्टी काँग्रेसले समेत अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको थियो।

शनिबारको बैठकमा वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै रिसइवी नभएको भन्दै आफू हत्याहिंशामा विश्वास नगर्ने र गान्धीवादी नेता भए पनि आवेशमा यस्तो अभिव्यक्ति दिएको भन्दै त्यो अभिव्यक्ति फिर्ता लिएको जनाएका हुन् । उनले अभिव्यक्ति दिएपछि आफूले पनि संसदीय मर्यादा बाहिर गएर बोलेको महसुस गरेको बताए।उनले आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।