सुर्खेतमा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको समुहमाथि आक्रमण

सुर्खेत,सामाजिक अभियन्ता तथा भ्रष्टाचारी विरोधीका रूपमा परिचित ज्ञानेन्द्र शाहीमाथि सुर्खेतमा आक्रमण भएको छ।शुक्रबार राति झण्डै साढे ११ बजेतिर सुर्खेतमा वीरेन्द्रनगरस्थित करेखोला नजिक शाहीको समूहमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालयले सुर्खेतले जनाएको छ।

प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए। उक्त आक्रमणमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताएका छन्।शाहीमाथि यो सँगै सुर्खेतमा तीन पटक आक्रमण भएको छ। घाइतेहरूको उपचार हाल कर्णाली प्रदेश अस्पताल सुर्खेतमा भईरहेको छ।

सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ। ती युवकको टाउकोबाट रगत बगिरहेको भिडियोमा देखिन्छ।शाहीले सामाजिक सञ्जालमा आफूसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोक बहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बिसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन्।

शाहीसहितको समूह देशका विभिन्न जिल्लामा पुग्दै लकडाउनमा समस्यामा परेकाहरूको उद्धार तथा राहतमा जुटिरहेको छ।निषेधाज्ञाको समयमा समस्यामा परेकाहरूलाई बचाउन खोज्दा खोज्दै आफ्नो ज्यान खतरामा परेको उनले भिडियोमा उल्लेख गरेका छन्।