वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन कांग्रेसको निर्देशन

काठमाडौं,नेपाली कांग्रेसले बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक विज्ञप्ति जारी गर्दै अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको जानकारी दिएका हुन्।बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँमार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न सचेत समेत गराइएको शर्माले बताए।

कांग्रेसका अर्का एक नेताले वैद्यलाई प्रदेशसभामै आत्मालोचना गर्न भनिएको छ। आफ्ना धारणा राख्न वैद्यले सभामुखसँग समयसमेत मागिसकेको ती नेताको दाबी छ । ‘हामी कुनै पनि बहानामा उनको अभिव्यक्ति ढाकछोप गर्दैनौं। यही कुरा अरूले गर्दा गल्ती हो हाम्ले गर्दा महागल्ती हो।वैद्यले ‘महागल्ती’ गरेकाले माफी माग्दै आफ्ना अभिव्यक्ति फिर्ता लिनुपर्छ।’ कांग्रेस प्रवक्ता शर्माले अनलाइनखबरसँग भने।शर्माले जारी गरेको विज्ञप्तिमा हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति नभएको उल्लेख छ।

‘पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोही बमोजिम आफुलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ,’ प्रवक्ता शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ।विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली कांग्रेस प्रष्ट छ अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन।आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिंदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन । शान्तिपूर्ण राजनीतिको सालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुन्छ।’