दाइजो नल्याएको भन्दै दुलहीमाथि कुटपिट

श्रीमान र ससुरा पक्राउ

सर्लाही, दाइजो नदिएको भन्दै दुलही कुटपिट गरेको आरोपमा प्रहरीले सर्लाहीबाट श्रीमान र ससुरा दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सर्लाहीको हरिपुर्वा नगरपालिका–२ का पीडितका श्रीमान जोगनारायण साह र ससुरा अनुपा साहलाई शुक्रबार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी मदन कुँवरका अनुसार श्रीमान र ससुराको कुटपिटपछि घाइते भएकी अमृताले दाइजो सम्बन्धी कसुर तथा ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

गत वैशाख १३ गते महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ६ की २१ वर्षीया अमृता साहको जातीय परम्परा अनुसार जोगनारायणसँग विवाह भएको थियो ।

तर विवाहको केही समय नबित्दै दाइजो नदिएको भन्दै श्रीमानसहित घरका अन्य सदस्यहरूले अमृतामाथि कुटपिट गरेका थिए । अमृता घाइते भएकी थिइन् । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।