संसद पुनर्स्थापना हुन्छः प्रचण्ड

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास गरेका छन्।मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधान अनुसार विघटन नभएकाले संसद पुनर्स्थापना हुने बताएका छन्।

‘अदालतले अन्ततः हेर्ने संविधान हो।संविधान अनुसार संसद विघटन भएको छैन,’ प्रचण्डले भने।उनले गत पुस ५ गते भएको संसद विघटन सर्वोच्च अदालतबाट पुनस्र्थापित भएको स्मरण गर्दै भने,‘त्यतिबेला पनि मैले हामी जिउँदै छौं भनेका थियौं, अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ, त्यसकारण सर्वोच्चबाट संसद पुनर्स्थापना हुन्छ।’

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संसद विघटन गर्दा नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाएको उल्लेख गर्दै प्रचण्डले अहिले भने कांग्रेस दोधारमा नरहेको बताए।‘पहिलोपटक चाहिं नेपाली कांग्रेस पनि के हो के हो भन्नेमा थियो,अहिले त कांग्रेस यो प्रतिगमन नै हो भन्नेमा छ । जनता समाजवादी पार्टीका उपेन्द्रजीहरु पनि साथमा छन्।

माधवजीहरु पनि सँगै हुनुहुन्छ,जनमोर्चा पनि साथमा छ,’ प्रचण्डले भने।उनले संविधान निर्माणका बेला संविधानसभामा माओवादीले राखेको ‘नोट अफ डिसेन्ट’लाई जनताको बीचमा लैजान नेता कार्यकर्तालाई आग्रह गरे।