कर्णाली सरकारमा कांग्रेसका दुई मन्त्रीको ईन्ट्री

आजै सपथ खुवाउने तयारी

सुर्खेत,कर्णाली सरकारमा नेपाली कांग्रेसका दुई मन्त्रीको ईन्ट्री भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसको कोटाबाट दुईजना नयाँ मन्त्रीलाई ईन्ट्री गराएका हुन्।शनिबार साँझ मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमंन्त्री शाहीले सुर्खेतका यज्ञबहादुर बीसी सामाजिक विकास मन्त्री र जुम्लाका दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बताएको छ।

नेपाली कांग्रेस दलको बैठकले बीसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेपछि मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए। प्रदेश प्रदेश प्रमुखको कार्यालयले पनि शुक्रबार साँझै मन्त्री नियुक्त भएको जानकारी गराएको हो।कांग्रेसबाट सरकारमा सहभागी भएका दुईजना मन्त्रीलाई आजै सपथ खुवाउने तयारी गरिएको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ।कांग्रेसले गत वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई संसदमा विश्वासको मत दिएर साथ दिएको थियो।

त्यसक्रममा नेकपा एमालेको माधव नेपाल समूहका चारजना सांसदले पनि फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीको सत्ता जोगाइदिएका थिए। त्यस लगत्तै सरकारमा जाने सहमति भएपनि कांग्रेसले सरकारमा कसलाई पठाउने भन्ने विषयमा टुंगो लगाउन सकेको थिएन।शुक्रबार साँझमात्रै कांग्रेसले १३ बुँदे आचारसंहितासहित दुईजनालाई सरकारमा पठाउने निर्णय गरेको हो।दुई मन्त्री थपिएसँगै कर्णालीको मन्त्री मण्डल ८ सदस्यीय बनेको छ । जसमा मुख्यमन्त्रीसहित ३ जना माओवादी केन्द्रका रहेका छन् भने एमाले माधव समूहका ३ जना र कांग्रेसका २ जना रहेका छन्।