कोहलपुर-सुर्खेत विद्युत् प्रसारण लाइनका लागि १३ हजार रूख कटान हुने

नेपालगन्ज, कोहलपुर–सुर्खेत १ सय ३२ केभिए विद्युत् प्रसारण लाइन विद्युत विस्तार गर्दा १३ हजार ५६ वटा रूख काटिने भएको छ ।आयोजना क्षेत्रमा पर्ने सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र लेकबेँसी नगरपालिका, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रभित्रका रूख कटान हुने भएका हुन् ।

कोहलपुर–सुर्खेत १ सय ३२ केभिए विद्युत् प्रसारण लाइन विस्तारका लागि निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले तयार पारेको प्रतिवेदनले कटान हुने रूखको संख्या सार्वजनिक भएको आयोजना प्रमुख रविकुमार चौधरीले बताए । ‘आरएस इन्फ्राप्रोजेक्ट प्रालिले तयार पारेको प्रतिवेदन सरकारलाई पेस गरिएको छ,’ उनले भने, ‘आयोजना क्षेत्रभित्र पर्ने रूख काट्नका लागि सरकारसँग अनुमति मागेका छौँ ।’

प्रतिवेदनअनुसार सुर्खेतमा ६ हजार ८ सय २०, बर्दियामा ३ हजार ३ सय २० र बाँकेमा २ हजार ९ सय १६ वटा रूख कटान हुनेछन् । आयोजना क्षेत्रमा पर्ने रूख कटानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा अनुमतिका लागि फाइल पेस भइसकेको छ । रूख कटानका लागि वन मन्त्रालयको स्वीकृति चाहिने भएकाले मन्त्रिपरिषद्को बैठकले पास गरेमा चाँडै रूख कटानको काम सुरु हुने आयोजना प्रमुख चौधरीले जानकारी दिए ।

कोहलपुर–सुर्खेत १ सय ३२ केभिए विद्युत् प्रसारण लाइन विस्तार गर्दा १ सय ६० पोल निर्माण हुनेछन् । तीमध्ये १ सय ३० वटा पोल सार्वजनिक तथा राष्ट्रिय निकुञ्ज र बाँकी ३० वटा पोल व्यक्तिको जग्गामा पर्ने आयोजना निर्माण कम्पनीले जनाएको छ । कोहलपुर–सुर्खेत १ सय ३२ केभिए विद्युत् प्रसारण लाइनको निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रुपैयाँमा ठेक्का पाएको छ ।