अब राजदूत हुन स्नातक नचाहिने

काठमाडौँ, गत वैशाख अन्तिम साता विभिन्न ११ देशमा राजदूत नियुक्ति सिफारिस गर्नुपूर्व मन्त्रिपरिषद्ले ‘विगतमा मन्त्री भइसकेका उम्मेदवारको नियुक्ति हकमा स्नातक तहको अध्ययन नचाहिने’ भन्दै निर्देशिका संशोधन गरेको छ ।यसअघि राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा पारित भएको थियो । उक्त निर्देशिकामा राजनीतिक नियुक्ति पाएर राजदूत हुने व्यक्तिको कम्तीमा स्नातक तहको शिक्षा हुनुपर्ने र सम्बद्ध मुलुकका विषयमा भाषासहितका विषयमा जानकार हुनुपर्ने प्रावधान तोकिएको थियो ।
‘निर्देशिकाबाट शैक्षिक योग्यतासम्बन्धी प्रावधानलाई संशोधन गरिएको थाहा भएको छ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘त्यसमा विगतमा मन्त्री भइसकेका व्यक्तिका हकमा स्नातक तह नचाहिने र अरूका हकमा यथावत् रहने प्रावधान छ ।’

राजदूतका लागि कूटनीतिक–राजनीतिक नियुक्तिमा ५०/५० प्रतिशत अनुपातको हिसाबमा सिफारिस गरिने प्रबन्ध रहँदै आएकामा गत वैशाख २५ गतेको मन्त्रिपरिषद्ले गरेको संशोधन निर्णयमा यसमा पनि ‘मौनता’ दर्शाइएको छ । गत महिना सिफारिस गरिएका ११ राजदूतमा ९ जना राजनीतिक कोटामा परेका छन् । यिनको सिफारिसको म्याद असार ९ मा पूरा भएपछि संसदीय सुनुवाइ नभईकन नियुक्ति प्रक्रिया थालिनेछ ।