हामी बुढा भयौँ, आन्दोलन पुनर्गठन गर्न युवाहरूले आँट गर्नुस् : नेता खनाल

काठमाडौं, पूर्वप्रधानमन्त्री तथा पार्टीबाट निष्कासन गरिएका एमाले वरिष्ठ नेता झलनाथ खनालले देशको वस्तुगत आवश्यकताले माग गरेको खण्डमा कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि युवा पुस्ताले आँट गर्नुपर्ने बताएका छन् ।नेपाल–खनाल समूहको केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै खनालले नेपाली समाज र नेपाली क्रान्तीको चरणको अध्ययन गरेर वस्तुगत आवश्यकताले माग गरेको खण्डमा पुनर्गठनका लागि युवा पुस्ता तयार हुनुपर्ने बताए ।

‘नेपालको कम्युनिस्ट आन्दोलन अहिले संकटग्रस्त छ । अहिलेको समाज, नेपाली क्रान्तिको चरणको अध्ययन गर्नुपर्छ । त्यस आधारमा नयाँ कार्यक्रम, कार्यदिशा र नयाँ योजनाका साथ कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्दै अगाडि बढ्नुपर्छ । इतिहासको आवश्यकताले, समाजको आवश्यकताले, देशको वस्तुगत आवश्यकताले यो कुराको माग गरेको छ । हामी बुढा भयौँ, नयाँ युवा कमरेडहरूले यसका लागि आँट गर्नुस् । यसको सम्पूर्ण तयारी गरेर अघि बढ्नुस्,’ खनालले बैठकमा भने ।

उनले २ जेठअघिको सांगठनिक संरचनामा पार्टीलाई फर्काउन प्रधानमन्त्री केपी ओली तयार भएको हो भने सकारात्मक हुने बताउँदै त्यसले पार्टीभित्रै विमतिहरूलाई अन्तसंघर्षको विधिबाट हल गर्दै जान सकिने बताए । अन्यथा कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट पुनर्गठन गर्नुबाहेकको विकल्प नरहेको उनको भनाइ थियो ।

‘अर्को पक्षसँग जे वार्ता, छलफल भइरहेको छ, यदि अनौपचारिक ढंगले भइरहेको छलफलहरू पनि २ जेठको सांगठनिक संरचनामा पुगेर अगाडि बढ्नका लागि केपी ओली तयार छन् भने सकारात्मक कुरा हो । कम्युनिस्ट आन्दोलनलाई विभाजन, विखण्डन गरेर क्रम बढिरहेको वेला २ जेठमा उभिएर पार्टीलाई सांगठनिक रूपले एकताबद्ध बनाएर त्यहीँभित्र वैचारिक रूपले संघर्ष गर्ने ठाउँ रहन्छ, विमतिलाई बिस्तारै निष्कर्षमा पु¥याउन सकिन्छ । तर, त्यसो हुँदैन भने कम्युनिस्ट आन्दोलन पुनर्गठनका लागि तयारी गर्नुस्,’ खनालको भनाइ थियो ।

उनले विश्व कम्युनिस्ट आन्दोलनमा पहिलो चरणमा कार्ल माक्र्स, दोस्रो र तेस्रो चरणमा लेनिनले आँट गरेर क्रान्तिलाई नयाँ दिशा दिएकाले नेपालमा पनि दोस्रो र तेस्रो पुस्ताका युवाहरूले आँट गरेर कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिनुपर्नेमा जोड दिए ।