खनाल-नेपाल समूहले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ, एमालेभित्र बढ्दो टकरावबीच झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले केन्द्रीय समिति बैठक आव्हान गरेको छ ।पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा र आगामी योजना निर्माणका लागि बैठक बोलाइएको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।

बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ । कोभिडका कारण बैठक भर्चुअल हुनेछ । खनाल नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी एकता संकटमा परेको निष्कर्ष निकालेकै बेला बोलाइएको केन्द्रीय समिति बैठकलाई चासोपूर्वक हेरिएको छ ।
नेपालनिकट दोस्रो पुस्ताका केही नेता पार्टी अध्यक्ष केपी ओली पक्षीय नेताहरुसँग अनौपचारिक संवादमा रहेकै बेला नेपालले केन्द्रीय समितिको बैठक बोलाएका हुन् । जबकि ठीक यही बेला संस्थापनपक्षले पनि खनाल-नेपाललगायत शीर्ष नेताबाहेक धेरैभन्दा धेरै नेता कार्यकर्ता समेटेर पार्टीलाई एकढिक्का राख्ने रणनीति बनाएको छ । दुवैपक्षका फरक फरक रणनीतिले माले एकता दिनप्रतिदिन धरापमा पर्दै गएको छ ।

नेता नेपालले बुधबार जनवर्गींय संगठनका नेताहरुसँग भर्चुअल बैठक गर्दै ओली सच्चिने ठाँउ नरहेकाले अब वैकल्पिक तयारीमा लाग्ने बेला आएको बताएका थिए ।

बैठकमा नेपालले संसद पुनस्थापनाको सम्भावना देखेपछि ओलीले फेरि पार्टी एकताको कार्ड फालेकोसमेत सुनाएको विद्यार्थी संगठनका एक नेताले बताए । उनका अनुसार नेपालले ओलीसँग कुनै ठोस प्रगति नभएको, ओली सच्चिने संकेत नमिलेको र फेरि जेठ २ मा फर्कने भनेर वक्तव्यबाजी पनि गर्न सक्ने बताएका थिए ।

तर, ओलीका यस्ता फुस्रा आश्वसनमा नपर्ने नेपालको भनाई थियो । ओली सम्झौताप्रति पटक्कै इमान्दार नरहेको र ओलीको कुरामा मख्ख पर्ने अबस्था पनि नरहेको बताएका थिए । ओलीको नेतृत्वमा पार्टी दक्षिणपन्थी भासमा गइसकेको र कम्युनिष्ट आन्दोलन अगाडि बढाउन क्रान्तिकारी सोचसहितको पार्टी चाहिएको नेपालको भनाई थियो ।

सोमबार पनि विद्यार्थी संगठनको बैठकमा नेता नेपालले क्रान्तिकारी पार्टी निर्माणको बेला आएको सुनाएका थिए । त्यस दिन नेता नेपालले आफ्नो समूहका नेता गोकर्ण विष्टलाई दुई तीन दिनभित्र ओलीसँग सहमति हुने नहुनेबारे निर्णायक संवाद गर्नसमेत भनेका थिए ।

विभिन्न जनवर्गीय संगठनका कार्यकर्तासँग छलफल आएका सुझावसहित नयाँ पार्टी गठनबारे केन्द्रीय समिति बैठकमा छलफल गरिने नेपाल निकट एक केन्द्रीय सदस्यले बताए । ओलीले खनाल र नेपालसहितका नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि दुवैपक्षबीच दुरी बढेको छ । नेपालले आफूलाई ओलीविरुद्ध विपक्षी गठबन्धनमा उभाएका छन् ।

उता बुधबार अपरान्ह ४ बजेका लागि बोलाइएको एमाले संस्थापन पक्षको स्थायी कमिटी बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।