गणतन्त्रको विकासको लागि सुदृढ राष्ट्रिय एकता जरूरी छ : सभामुख साप्कोटा

सभामुख अग्नि प्रसाद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताएका छन् ।१४ औं गणतन्त्र दिवशको अवसरमा शुभकामना दिँदै सभामुख सापकोटाले गणतन्त्र स्थापनाका लागि भएको जनयुद्ध, १९ दिने जनआन्दोलन तथा विभिन्न संघर्षहरुमा प्राण उत्सर्ग गर्ने शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले आन्दोलनमा घाइते,अपाङ्ग र बेपत्ता भएकाहरुप्रति सम्मान व्यक्त गरे ।

हजारौं नेपाली छोराछोरीको बलिदानको बलमा प्राप्त गणतन्त्रलाई संस्थागत गर्ने , संविधानको कार्यान्यवन गर्ने र संघीयता, धर्मनिरपेक्षता,समानुपातिक, समावेशी सिद्धान्तलाई संविधानले निर्दिष्ट गरेअनुसार कार्यान्वयन गर्नु र गराउनु राज्यको सर्वाेच्च ओहोदामा रहेका पदाधिकारीहरुको पहिलो कर्तव्य भएको बताएका छन् ।

उनले एकातिर गणतन्त्र र संविधानमाथि आइपरेको संकट र अर्काेतिर कोभिड १९ महामारीबाट आक्रान्त भएको बेला विषम परिस्थितीमा अझ जिम्मेवारीबोधका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको औंल्याए ।