सगरमाथाबाट एक अमेरिकीसहित दुई जनावको शव निकालियो

ओखलढुंगा, सगरमाथाको चौथो शिविर आसपासबाट दुईवटा शव निकालेर सोमबार काठमाडौं पठाइएको छ । नेपाली सेनाको नेतृत्वमा भएको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत ती शवहरु निकालिएका हुन् ।नेपाली सेनाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा ती शवमध्ये एकजनाको पहिचान खुलेको जनाएको छ । सन् २०१९ मा सगरमाथा आरोहण गरी फर्किने क्रममा मृत्यु भएका अमेरिकाको कोलोराडो निवासी ६२ वर्षीय क्रिस्टोफर कुलिसको पहिचान खुलेको हो । अर्को शवको भने पहिचान नखुलेको सेनाले जनाएको छ ।
दुवै शव पुरुषको रहेको जनाइएको छ । ती शवहरुको गत वैशाख २९ गते सफाइको क्रममा चौथो शिविर नजिकैको ढुंगाको चेपमा फेला परेका थिए । शवहरुलाई आइतबार दोस्रो शिविरसम्म ल्याउन सफल भएका थिए । सोमबार भने हेलिकप्टर मार्फत दोस्रो शिविरबाट आधार शिविरमा ल्याई कानुनी प्रक्रिया पुर्‍याएर काठमाडौं लगिएको हो ।

त्यसैगरी सफा हिमाल अभियान अन्तर्गत संकलित फोहोरहरु जेठ २२ गते विश्व वातावरण दिवसको अवसर पारेर पुर्नप्रयोगका लागि चरणबद्ध रुपमा हस्तान्तरण गर्ने योजना रहको सेनाले विज्ञप्तिमा जनाएको छ । सोमबार नेपाली सेनाको जंगी अड्डामा आयोजित एक कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले सगरमाथा र आमादब्लम हिमालबाट संकलन गरिएको फोहोर अभ्नी भेन्चर प्रालिलाई हस्तान्तरण गरेका छन् ।

आमादब्लमबाट ३ हजार ४ सय ४२ किलो फोहोर संकलन भएको थियो । त्यसमध्ये ६० किलो कुहिने फोहोर सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेलाई जिम्मा लगाएको सेनाले जनाएको छ । त्यसैगरी नकुहिने र पुनःप्रयोग गर्न सकिने ६ हजार १ सय ९० किलो फोहोर पुनःप्रयोजनका लागि अभ्नी भेन्चर प्रालिलाई हस्तान्तरण गरिएको हो ।

यसवर्ष नेपाली सेनाको नेतृत्वमा ६ वटा हिमाल सफाइ भइरहेको छ । सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरि हिमाल सफाइ भइरहेको हो । सफाइका लागि ६ वटा हिमालमा गरी सेना र शेर्पाहरु जम्मा १ सय १२ जनाको टोली खटिएका छन् । जसमध्ये ४३ जना नेपाली सेना र ६९ जना शेर्पाहरु रहेका छन्