मेरा बा !

कविता

पिढिको छेवैमा बसेर
दाउराको भारिले पसिनै भएको
मलाई नियाल्दै बाले भनेका थिए।
तँ यत्ति सानो बोझले भिजिस?
तेरो उमेराँ मैले यस्तै तीन गुणा बोक्थेँ।
होला साहेद! को भावमा
म मुख तितो मन अमिलो बनाउँदै
मनैमनले भन्थेँ
लोहोटाको पानि उठाउने ताकत छैन
खुब फुर्ती लाउँछन बुढा!!

ऐना हेरि मुस्कुराउँदै
जब म सिंगारिदै थिएँ,
जुल्फी मिलाउँदै थिएँ।
परबाट नियालिरहेका बा
आकाशतर्फ हेरेर अकस्मात बोले।
के सिंगारिन्छस छोरा?
तेरो उमेराँ मेरो रुप तँ भन्दा
दुई गुणा बढी थ्यो।
राता गाला अनि खाइलाग्दो जिउँ थ्यो।
बिना श्रृङ्गारनै मोहित बनाउने वर्ण थ्यो।
एक मीठो सपनास्तो लाग्ने त्यो विगत
सम्झँदा आजपनी तरंगित बनाउँछ।
उनी हराए आफ्नै बिगतमा।

उकालो हिँड्दा दम बढेर
स्याँ…स्याँ… भएपछि सुस्ताउन
एकैछिन डिलको ढुङ्गामा बस्दै भने
“पर्खी छोरा एकछिन।”
आफुलाइ फुर्तिलो देखाउँदै
कान्लामा बसेजस्तो अडेस लागेको छु म।
सास फेर्न सहज भएपछि
बूढो नजर शिखर तर्फ ढड्याएर
केहि छिनको मौनता चिरेर भने
“त्यो बैंसमा यस्ता कैंयौँ उकालाहरु
हावाको बेगमा पार गर्थेँ।”
मेरो निधारले स्वरुप बिगार्‍यो
बाको कुरा सुनेर।
सोचेँ ‘यी बुढाले फुर्ती बाहेक केही जान्दैनन्।’

बेलामौकामा अवसर जुटेसम्म
आफ्नो विरगाथा सुनाउन छुटाउँदैनन बा।
भन्छन,
उमेराँ हात्तिस्तो बल थ्यो
चितुवास्तो फुर्ती थ्यो
बाघस्तो कौसल थ्यो।
नाङ्गो खुट्टा बाटो हिँडदा पनि
अचम्मीत पार्ने चाल पर्थ्यो।
दौँतरी डराउँथे म सँ
सिंहस्तो गर्जन थ्यो।
अनि मनगढन्थे कथा बताए जस्तै
अनुहार बिगार्ने पालो मेरो हुन्छ।

आज म गम्भीर छु मेरा बा प्रती।
गम्भीर छु उनले सुनाउने शब्द र गाथा प्रती।
सोच्दैछु उनका कहानी मनगढन्ते पक्कै होइनन्।
अनि प्रश्न गर्दैछु आफ्नै मन सँग।
कहाँ गए उनका सौर्य र क्षमताका द्रव्यहरु?
कहाँ गए उनका कौसलका चिनारीहरु?
आखिर कहाँ गए उनका विरताका
स्पष्ट पदचिन्हहरु?
अनि उनका सबै कथामा वर्णित सक्षमता?
आज सुकेर झिनो बनेको शरीरका
गठिला कहानि र शब्दबाहेक
के बाँकी छ उनिसँग?
तब फेरि नियाल्छु आफैलाई
र सोध्छु “म कसरी म भएँ?”

म मेरा बाको अगाडि आफैलाई
होनहार ठानिरहेको छु।
तर बुझ्दै जाँदा
मेरो यो सक्षमतामा बाको
सक्षमता भिजेको रहेछछ।
म आफैलाई निकै सुन्दर देख्ने होउन्जेल
बाले आफ्नो सबै सौन्दर्य गुमाइसकेछन।
जब बाको पृष्ठभूमि पढेँ
जब नियालेँ आफैलाई अनि पाएँ
मलाई बनाउन बाले आफैलाई
फेरि कहिल्यै नबन्नेगरी
भत्काइसकेछन।
जिर्ण बनाइसकेछन।

हो!
म बलवान छु र बुद्धिमान पनि।
तर म बलवान् र बुद्धिमान प्रकृतिद्वारा भएको होइन।
यो त बाको बल र बुद्धिको प्रताप रहेछ।
उनको गठिलो शरीर मेरो शरिरमा
भिजेछ, सिंचन भएछ।
मेरा गाला राता छन किनकी
यसमा बाको रगत मिसिएको छ।
म रसिलो छु र हँसिलो छु किनकी
ममा बाको पसिना मिसिएको छ।
म जिवनको उन्मादमा छु,
कारण बाको जोसिलो यौवन मिसिएको छ।
त्यसैले पो रहेछ !!
बा सौन्दर्यबिहिन, सौर्यबिहिन अनि
सक्षमताबिहिन भएको।
उनी निरीह भएको, रित्तो भएको।

जुन दिनदेखि उनले आफैलाई
मेरो नाममा समर्पित गरिदिएका थिए,
त्यही दिन देखि उनी उनै रहेनन्।
जब उनी मेरो लागि जिउँन थाले
तबदेखि उनी आफ्नैलागी जिएनन।
उनले आफ्नो लागि हाँस्न छोडे
अनि आफ्नो लागि बाँच्न छोडे।
त्यसैले पो रहेछ आज म
हाँसिरहेको अनि बाँचिरहेको।
उनी छोराको लागि बाँचेछन
र म बाको लागि बाँचिन्ँ।
साहेद त्यसैले होला उनी म प्रती गर्व गरिरहेका
अनि म आफैप्रती घमण्ड गरिरहेको।

कास्!
मैले समयमै बुझ्न सकेको भए।
उनको गर्व लाजाउने थिएन।
मेरो घमण्ड मौलाउने थिएन।
आज म बुझ्दै छु
म नै म होइन।
वास्तवमा उनीनै पो म रहेछु
अनि म नै पो उनी रहेछन।
किनकी उनी मेरो लागि बाँचे र
म उनको कारणनै म भएँ।
त्यसैले म बुझ्दैछु समर्पणको
महान उदाहरण मात्रै उनी हुन।
नरको रुपमा नारायण उनी हुन।
शरिरको रुपमा जीवन उनी हुन।
उनी सक्षम होउन्जेल मेरो लागि बाँचे
आज जिर्ण शरिरमाथी उभिएर पनि
मलाई उनिजस्तै सक्षम बन्न आह्वान गरिरहेछन।
वाह! मेरा बा!
साच्चिकै तिम्रो महिमा आकाश भन्दा उँचो छ।
जसलाई न मैले देख्न सकेँ न बुझ्ननै।