प्रतिबन्ध

हाम्रा स्वरहरूमा प्रतिबन्ध लाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुण्ड्याउँदै
तिमी भन्छौ गाउ न त गाउ
तर यो गीत नगाउ
हामी भने त्यही गीत गाइरहन्छौँ ।
हाम्रा विचारहरूमा प्रतिबन्ध लाउँदै
हाम्रा हातहरूमा हतकडी पहिर्याउँदै
तिमी भन्छौ लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौँ
हाम्रा आस्थाहरूमा प्रतिवन्ध लाउँदै
हाम्रा खुट्टाहरूमा नेल भिराउँदै
तिमी भन्छौँ हिड्न त हिड
तर यो बाटो नहिँड
हामी भने त्यही बाटो हिडिरहन्छौँ ।
ओ शासक-प्रशासकहरू !
अश्वीकार्य छ हामीलाई
तिम्रा निरङ्कुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुम र उत्पीडनहरू शुरु गर
सक्छौ भने हाम्राँ चेतनाहरूमा प्रतिबन्ध लगाउ
र सत्यलाई कैद गर
तर ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौँ ।
उठाइरहन्छौँ हामी तिम्राविरुद्ध सङ्घर्षका हातहरू
कसिरहन्छौँ हामी तिम्राविरुद्ध विद्रोहका मुठ्ठीहरू
ओ, अत्याचारका पहरेदारहरू !
अन्तिम जीत हाम्रै हो
तिम्रो हारमाथि विजयको झण्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौँ ।
सन्दर्भ: कृष्ण सेन ‘इच्छुक’को २५ औँ स्मृति तथा सांस्कृतिक बलिदान दिवस ।

