प्रगतिवादी स्रष्टा इस्माली, विपिन र योञ्जन इच्छुक पुरस्कारबाट सम्मानित
काठमाडौं । इच्छुक प्रतिष्ठानको सभाहलमा आज आयोजित विशेष सम्मान कार्यक्रममा प्रगतिवादी साहित्य तथा कलाक्षेत्रका स्रष्टा इस्माली, नारायण शर्मा ‘विपिन’ र अमित योञ्जनलाई ‘इच्छुक’ पुरस्कारबाट सम्मानित गरिएको छ ।

यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार २०८२’ वरिष्ठ प्रगतिवादी आख्यानकार, समालोचक तथा अनुवादक इस्माली (महेश्वर प्रसाद उपाध्याय) काठमाडौंलाई प्रदान गरिएको हो ।
त्यस्तै साहित्यतर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०८२’ कवि तथा साहित्यकार नारायण शर्मा ‘विपिन’चितवन लाई प्रदान गरिएको छ, भने कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०८२’ कलाकार, गायक तथा नृत्यकार अमित योञ्जन सिन्धुपाल्चोकलाई प्रदान गरिएको छ ।
इच्छुक स्मृति पुरस्कारको राशी एक लाख रुपैयाँ नगद, दोसल्ला तथा प्रमाणपत्र रहेको छ । प्रतिभा पुरस्कार भने जनही २५ हजार रुपैयाँ नगद, दोसल्ला र प्रमाणपत्रसहित प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।
कृष्ण सेन ‘इच्छुक’को २५ औँ स्मृति तथा सांस्कृतिक बलिदान दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा इच्छुक प्रतिष्ठानका संरक्षक तथा साहित्यमा ‘चैतन्य’ नामले परिचित मोहन वैद्य ‘किरण’ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
त्यस्तै कार्यक्रममा सीपी गजुरेल, सुदर्शन, प्रतिस्ठानका सल्लाहकार तक्मा केसीलगायत विभिन्न साहित्यिक, सांस्कृतिक तथा राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले कृष्ण सेन ‘इच्छुक’को जनपक्षीय पत्रकारिता, प्रगतिवादी साहित्य र सांस्कृतिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गर्दै उहाँको विचार र संघर्ष आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका थिए ।

