यी हुन् देउवाको पक्षमा हस्ताक्षर गर्ने एमालेका २६ सांसद(नाम सहित)

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि दिएको समयसिमा भित्रै एमाले संसदीय दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दावी प्रस्तुत गरेका छन्।कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जनता समाजवादी पार्टीका १२, एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहका २६ र राष्ट्रिय जनमोर्चा १ गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा देउवाले दावी पेश गरेका हुन् ।
ओलीले भने एमालेका १२१ र ३२ सांसद रहेको जसपाको समर्थन रहेको पत्रसहित प्रधानमन्त्रीका लागि दावी पेश गरेका छन् । नेपाल पक्षका २६ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेपछि ओलीसँग १५३ सांसद रहेको दावी झुटो भएको नेताहरुले बताएका छन् ।

नेपाल पक्षका स्थायी कमिटी सदस्य बेदुरामा भुसालले यसअघि ओलीलाई संसदमा विश्वासको मत नदिने सांसदहरु नै देउवाको पक्षमा हस्ताक्षर गर्नेहरु रहेको बताए । विश्वासको मत नदिएका तीन सांसदले भने हस्ताक्षर नगरेको उनले बताए । ‘विश्वासको मत नदिएकामध्ये तीन सांसदले हस्ताक्षर गर्नुभएको छैन । जसमध्ये योगेश भट्टराई, जयकुमार राई र कलिला खान रहनु भएको छ । कलिला खान काठमाडौं बाहिर भएको भएर हस्ताक्षर गर्नुभएन,’ भुसालले भने ।

भट्टराईले माधव नेपाल प्रधानमन्त्री हुने भएमात्रै हस्ताक्षर गर्ने बताएपछि उनको नाम हटाइएको थियो भने राईले शुक्रबार बिहानको छलफलमा आफूले हस्ताक्षर नगर्ने नेताहरुलाई बताएको भुसालले जानकारी दिए । देउवाको पक्षमा राईको पनि हस्ताक्षर भएको तर उनले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै विज्ञप्ति निकालेको पत्र सार्वजनिक भएको थियो । प्रधानमन्त्रीलाई विश्वासको मत दिएका राजबहादुर बुढाले भने देउवाको पक्षमा हस्ताक्षर गरेका छन् ।

यी हुन् देउवाको पक्षमा हस्ताक्षर गर्ने एमालेका २६ सांसद

१. झलनाथ खनाल

२. पवित्रा निरौला खरेल

३. भवानी खापुङ

४. राजबहादुर बुढा

५. यज्ञराज सुनुवार

६. गणेश पहाडी

७. विरोध खतिवडा

८. कृष्णलाल महर्जन

९. माधवकुमार नेपाल

१०. जीवनराम श्रेष्ठ

११. नारायण खतिवडा

१२. घनश्याम भुसाल

१३. गोकर्ण विष्ट

१४. सोमप्रसाद पाण्डे

१५. मेटमणी चौधरी

१६. झपट रावल

१७. भीमबहादुर रावल

१८. दिपकप्रकाश भट्ट

१९. सुरेन्द्र पाण्डे

२०. रामकुमारी झाँक्री

२१. सरला यादव

२२. पुष्पाकुमारी कर्ण

२३. कल्याणी खड्का

२४. निरादेवी जैरु

२५. लक्ष्मीकुमारी चौधरी

२६. मुकुन्द न्यौपाने