कुशेको दम्दालामा सम्पुर्ण स्थानियमा ज्वरो र रुघाखोकी

मस्त निद्रामा स्थानिय जनप्रतिनिधी

जाजरकोट,जाजरकोटको कुशे गाउँपालिका-५ दम्दालामा सिङ्गो गाउँका मानिस बिरामी परेका छन्।ज्वरो आउने,रुघाखोकी लाग्ने,छाती दुख्ने,टाउको दुख्ने लगायतका लक्षणसहितका बिरामी देखिन थालेका छन्। स्थानिय कमल थापाका अनुसार गाउँभरी ज्वरो र रुघाखोकीका बिरामी तिब्र रुपमा बढिरहेको र प्रत्येक घरमा बिरामी लखतरान परेको बताए।

दम्दालाको सो बस्तीमा मात्र ८० घरधुरी वसोवास गर्दै आएका छन्।सोही बस्तीमा वसोवास गर्ने अर्का स्थानिय निम वहादुर थापाका अनुसार पुरै गाँउ ज्वरो,रुघाखोकीले थला परेको छ। तर स्थानिय सरकार भने वेखवर वनेको बताए।कहाँ छ स्थानीय सरकार? खोइ कोभिड–१९ चेक? खोइ उपचारमा सहयोग गरेको ? स्थानियहरु आक्रोशित हुदै प्रश्न तेर्साउन वाध्य भएका छन।दम्दालाकै भिमसेन थापा र वलराम मल्ल यसो भन्छन। “कोरोनाको जस्तै लक्षण देखिएकाले स्थानीयहरु त्रसित वनेका छन्।सामान्य ज्वरो, रुघाखोकी र टाउको दुख्ने समस्या नभएको कोही पनि भेटिदैनन् र छैनन् पनि। बच्चा देखि वृद्धवृद्धा सबै प्रभावित भएको थापा र मल्लले बताए।”

यस्तो विषम परिस्थितीमा स्थानीय सरकारले उपचारमा सहयोग नगरेको गुनासो स्थानियले गरे। घरघरमै बिरामी पर्दासम्मा एकपटक स्थानिय सरकारका जनप्रतिनिधिले अनुहार नदेखाएको बताउदै स्थानिय वलरामले आक्रोश पोखे ।सबै स्थानिय थला परेका छन्।उता गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले आइतबार मात्र किट आइपुगेकाले स्वास्थ्यकर्मीसहितको टोली परीक्षण तथा उपचारका लागि सोमबार त्यहाँ जाने बताएर पन्छीरहेका छन्।

विरामीको सामान्य उपचारसम्म हुन पाएको छैन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले दम्दालामा गाउँभरी ज्वरो र रुघाखोकीले थला परेको भन्ने सूचना आएको बताउँदै कोरोना हो कि ? अन्य भाइरल रोग हो भन्दै अन्यौल परेको बताए।कोरोना महामारी दिनप्रतिदिन वढिरहेको वेला देशमा अक्सिजनको अभाव सिर्जना हुदा जाजरकोटको दम्दालामा भने स्थानिय सरकार,प्रदेश सरकार र संघिय सरकारले सिटामोलसम्म पुर्याउन सकेको छैन।