एमाले नेताहरुद्धारा मदन भण्डारीको सालिकमा माल्यार्पण

काठमाडौं,नेकपा एमालेले २८ औं मदन आश्रित स्मृति दिवस मनाईरहेको छ। स्मृति दिवसको अवसरमा एमाले नेताहरु बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा जम्मा भएर मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन्।कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, वामदेव गौतम,उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’,नेताहरु सुवास नेम्वाङ,घनश्याम भुसाल,सुरेन्द्र पाण्डे लगायतका नेताहरु सहभागी भएका थिए।

विगतमा एमालेले मदन–आश्रित स्मृति दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने गरेको थियो । यसपटक भने कोरोना संक्रमणको कारण सीमित संख्यामा भेला भएर एमालेले स्मृति दिवस मनाएको छ।२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जीप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको मृत्यु भएको थियो ।

एमालेले बल्खुस्थित पार्टी कार्यालय रहेको क्षेत्रलाई मदन भण्डारीको नामबाट ‘मदन नगर’ नामकरण गरेको छ। बल्खुस्थित एमाले केन्द्रीय कार्यालयको रातो भवन २०७२ सालको भूकम्पले क्षति पुगेको थियो । सो स्थानमा नयाँ अत्याधुनिक पार्टी कार्यालय निर्माणको प्रक्रिया अघि बढाइएको छ। हाल एमालेले बबरमहलस्थित भाडाको एक घरबाट केन्द्रीय कार्यालय सञ्चालन गर्दै आईरहेको छ।