जसपाको उपेन्द्र–बाबुराम पक्षले बोलायो कार्यकारिणी बैठक

काठमाडौं,जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले कार्यकारिणी समितिको बैठक तय गरेको छ।पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा यो पक्षले बैठक तय गरेकोको हो। कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईले राष्ट्रिय राजनीतिमा देखिएको पछिल्ला घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको जानकारी दिएका हुन्।

‘उपलब्ध कार्यकारिणी सदस्यहरूको बैठक बोलाएका हौं,’ उनले भने,‘साथीहरू आइरहनुभएको छ। केहीबेरपछि हाम्रो बैठक सुरु हुन्छ।’तर, आजको बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षलाई भने बोलाइएको छैन। यो समूहका एक नेताले आफूहरूलाई बैठकका बारेमा कुनै जानकारी नभएको बताए।

उपेन्द्र-बाबुराम पक्षले मुख्य रुपमा बिहीबार जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदले महतोलाई संसदीय दलको नेता चयन गरेपछि आवश्यक छलफल गर्न कार्यकारिणी समितिको बैठक बोलाएको हो।भक्तपुरको एक रिसोर्टमा भएको सांसदको भेलाले महतो नेता चुनिएका हुन्। भेलामा २० जना सांसद रहेको ठाकुर(महतो पक्षको दाबी छ।