कांग्रेस नेता पौडेलले भने- मुलुकको राजनीती रहस्यमय बाटोमा धकेलियो

काठमाडौँ, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन् ।

File photo

प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली नै पुन: प्रधानमन्त्री बन्ने अवस्था श्रृजना हुनुले कयौं संशय उब्जाएको उनले बताए ।

शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोभिड–१९ विरुद्धको खोपको दोश्रो डोज लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले मुलुकको राजनीति रहस्यमय बाटो अघि बढेको र सयौं संशयहरु उब्जाएको बताएका हुन् । उनले अझै पनि संसद विघटन गर्ने प्रयत्नै अझै पनि जारी नै रहेको दाबी गरे ।

‘झन रहस्यमय बाटोतिर जाँदै छ । धेरै संशयका कुराहरु छन् । पहिलो कुरो त संसदलाई फाल्ने प्रयत्न अझै पनि जारी छ । त्यो कुरा कसरी समाधान हुन्छ । संसदले पूरा आयु बाँच्न पाउँछ कि पाउँदैन । संविधानले बाँच्न पाउँछ कि पाउँदैन । जनताले बाँच्न पाउँछ कि पाउँदैन’, उनले भने, ‘यस्तो कोरोना छ । यो कोरोनाको बीचमा लगेर फेरि तमासाहरु हुन थाल्यो भने फेरि जनता नै बाँच्ने कुरा आउँछ । त्यसकारण जनता बाँच्ने कुराको पनि चिन्ता छ ।’