मेरो उम्मेदवारी फिर्ता कुनैपनि हालतमा हुन्नः खिमलाल देवकोटा

काठमाडौँ,वाग्मती प्रदेश राष्ट्रिय सभा सदस्यका उम्मेदवार खिमलाल देवाकोटाले आफ्नो उम्मेदवारी फिर्ता नलिने बताएका छन्। देवकोटा नेकपा एमाले खनाल-नेपाल पक्ष, नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका तर्फबाट संयुक्त उम्मेदवार वनेका हुन्।

तर बिहीबार माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेपछि देवकोटाको उम्मेदवारी के हुन्छ भन्ने प्रश्न उठिरहेका बेला उनले स्पष्टीकरण दिएका छन्। राजनीतिक स्थिरता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणलगायतका लागि राजनीतिक दलहरु विभाजित हुन नहुने उल्लेख गर्दै उनले आफ्नो उम्मेदवारी फिर्ता कल्पनाभन्दा बाहिरको कुरा भएको बताए।

शुक्रबार बिहान उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलगायत अन्य दलहरुको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितिमा यसमा पुर्नविचार गर्ने कुरा कल्पनाभन्दा बाहिरको विषय हो ।