सुर्खेतमा थप दुई हप्ता निषेधाज्ञा थप्ने निर्णय

स्थानीयको ख्याल ठट्टामा प्रशासनको कडाई

सुर्खेत,सुर्खेतमा थप दुई हप्ता निषेधाज्ञा लम्व्याउदै कडाई गर्ने तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार शुक्रबार रातीदेखि लागुहुने गरी थप दुई हप्ता निषेधाज्ञा लागु गर्ने तयारी गरिएको हो। यसअघि लागु भएको निषेधाज्ञाको अन्तिम मिति भोली सकिदैछ।

यसअघि लागु भएको निषेधाज्ञामा स्थानीयको लार्पवाही भएकोले अब लागुहुने निषेधाज्ञा अवधिमा प्रशासनले थप कडाई गर्ने तयारी गरेको छ।हालको स्थितीलाई हेर्दा निषेधाज्ञा थपेर कडाई गर्नुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताएका छन्। रिजालका अनुसार अब थपिने निषेधाज्ञा अवधिमा कोही कसैले पनि निस्फिक्रि हिडडुल गर्न तथा व्यवसाय संचालन गर्न पाउने छैनन्।

उनले भने, ‘यसअघिको निषेधाज्ञामा विकास निर्माणका काम जारी राख्ने र अत्यावश्यक पसल तथा कार्यालय खोल्ने भन्ने थियो । जसका कारण कर्मचारीदेखि मजदुरहरुको नाममा आउजाउ बढ्न थाल्थ्यो । अब यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा छलफल भइरहेको बताए।’

‘कोरोनाले दिर्घ रोगीलाई मात्रै असर गर्छ भन्ने स्थानीयको बुझाई रहेको छ । तर यो बर्ष दिर्घ रोगी मात्रै नभइ रोग नै नभएकाहरु पनि धमाधम संक्रमणबाट मरिरहेका छन् । निषेधाज्ञा कडाई गर्न र कोरोना रोकथाम तथा नियन्त्रणका लागि के गर्न सकिन्छ भन्नेबारे स्थानीय तहका जनप्रतिनिधिहरुसँग भर्चुअल बैठक जारी रहेको छ’