कांग्रेसको कारण रोकियो कर्णालीका मन्त्रीहरूको सपथ

सुर्खेत,कर्णाली प्रदेशमा थपिएका तिनजना मन्त्रीहरूको सपथ ग्रहण रोकिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले असहमति जनाएपछि सपथ रोकिएको हो।बिहिवार ११ बजे सपथ गराउने तय भएतापनि कांग्रेस नेताहरुले एकलौटी ढंगले अगाडि नबढ्न मुख्यमन्त्री शाहीलाई सचेत गराएको छ।

मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा विन्दमान विष्ट र सीता नेपालीलाई ऊर्जा तथा जलस्रोत मन्त्रीको जिम्मेवारी दिने तयारी गरेका थिए ।मन्त्रालय विभाजन गरिएकोमा कांग्रेसले असहमति जनाएको हो । कांग्रेसका लागि राखिएको सामाजिक विकास मन्त्रालय समेत मुख्यमन्त्री शाहीले विभाजन गरेर युवा तथा खेलकुद मन्त्रालय बनाएपछि कांग्रेसको असन्तुष्टि बढेको हो।

मुख्यमन्त्री शाहीले सरकारलाई समर्थन गर्ने दल र समूहसंग छलफल गरेर अगाडि बढ्ने बताएका छन्।सहमति खोज्न मुख्यमन्त्री शाही, फ्लोर क्रस गरेर सरकार जोगाएका एमाले नेता प्रकाश ज्वाला र कांग्रेस नेता जीवनबहादुर शाहीबीच अहिले छलफल भइरहेको छ ।