कारबाही गर्नु गल्ती,सच्याउनु सकारात्मकः योगेश भट्टराई

काठमाडौं,नेकपा एमालेको माधव नेपाल समूहले चार नेतामाथि गरिएको कारबाही फिर्ता लिनु सकारात्मक भएको बताएको छ।यद्यपि पार्टी एकतालाई जोगाउन जेठ २ मा फर्किन अध्यक्ष केपी शर्मा ओली तयार हुनुपर्ने बताए।

बिहीबार विहान बसेको अध्यक्ष ओली पक्षको स्थायी कमिटी बैठकले माधवकुमार नेपाल,भीम रावल,घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको छ।नेपाल समूहका नेता योगेश भट्टराईले कारबाही फिर्ता लिनु सकारात्मक भएको बताए । ‘कारबाही गर्नु नै गल्ती थियो, गल्ती सच्याउने काम भएको छ’ नेता भट्टराईले अनलाइनखबरसँग भने, ‘यसलाई सकारात्मक मान्नुपर्छ।’

यद्यपि पार्टी एकता जोगाउन २०७५ जेठ २ मा फर्किनुपर्ने नेपाल समूहका नेताहरुको अडान छ । भट्टराई भन्छन्, ‘पार्टी अध्यक्षले पार्टीको एकता जोगाउन जेठ २ मा फर्किने र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन उदारता देखाउनुपर्छ ।’