गण्डकीमा कांग्रेस सांसद कृष्णचन्द्र नेपालीद्वारा मुख्यमन्त्रीमा दावी

पोखरा,गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेका छन्।

बुधबार प्रदेश प्रमुख सीता पौडेललाई पत्र लेखी उनले आफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ सभामुखसहित,राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गरेका छन्।६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री नियुक्त हुन ३१ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेलले आफूलाई प्रदेशसभाका चार दलले मुख्यमन्त्रीमा समर्थन गरेको बताए।

उनले सांसदको संख्या भने विश्वासको मत लिँदा प्रदेशसभामा गणना हुने बताए।‘सांसदको टाउका गन्ने हाउसमा हो, त्यहाँ नै हेर्नुपर्छ’ उनले भने।सांसद पोखरेलले प्रदेश प्रमुखले आफूलाई मुख्यमन्त्री नियुक्त गर्ने आशा व्यक्त गरे।