कर्णालीमा थपिए तिनजना मन्त्री

दुई मन्त्रीको राजिनामा

सुर्खेत,कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। बुधबार शाहीले माओवादी केन्द्रका तीन जना सांसदलाई मन्त्री बनाएका हुन्।

नव-नियुक्त मन्त्रीहरूमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतबाट निर्वाचित विन्दमान विष्ट र समानुपातिक सांसद सीता नेपाली रहेको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ।शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, विष्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालयको जिम्मा नेपालीलाई दिइएको छ।

थपिएका मन्त्रीको आजै सपथग्रहण हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको निजी सचिवालयले जनाएको छ। मुख्यमन्त्री कार्यालयले प्रदेश प्रमुखको कार्यालयलाई पत्र पठाईसकेको छ।यसअघि आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आज बिहान बसेको मन्त्रिपरिषदको बैठकमा राजीनामा दिएका थिए ।