लकडाउनमा अवैध कारोवार

दैनिक तस्कर र व्यापारी प्रहरीको फन्दामा

सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार अवैध रूपमा भित्राइएको भारतीय सुपर पावर सूर्तीसहित एक जनालाई प्रहरीले पक्राउ गर्‍यो । वीरेन्द्रनगर नगरपालिका ३ मा रहेको युनिसा खाद्य स्टोरले लुकाइ राखेको १९ बोरा सुपर पावर सूर्ती र म्याद नागेको पटका प्रहरीले बरामद गरेको थियो।नगर प्रहरी टोलीले युनिसा स्टोरबाट ४ बोरा र घरको गोदाममा लुकाएको १५ बोरा सहित सञ्चालक बमबहादुर रोकायलाई पनि पक्राउ गरेको थियो।

यसै गरी वैशाख २१ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले नेपालगञ्जदेखि सुर्खेत ल्याउँदै गरेको अवैध सुर्तीजन्य पदार्थ पुनः बरामद गरेको थियो । ना ४ ख ७६५३ नम्बरको ट्रकलाई वीरेन्द्रनगर स्थित सुब्वाकुना प्रहरी पोष्टमा प्रहरीले नियन्त्रणमा लिएर खोजतलास गर्दा ठुलो मात्रामा राजश्व छलीका सुर्तीजन्य पदार्थ फेला परेको थियो । न्यू पश्चिमाञ्चल ट्रेडर्स कपिलवस्तुको भ्याट नम्बर ३०५३०४७६४ बाट महादेव स्टोर सुर्खेतको भ्याट नम्बर ३०५६५३२५७ मा भ्याटसहित १३ लाख ६६ हजार १७० रूपैँयाको बिल बनाएर ५४ बोरा गोल्डेन काली सुर्ती बरामद गरेको थियो।

कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा बढिरहेको अवस्थामा सुर्खेतमा वैशाख १४ गते रातिबाट निषेधाज्ञा जारी गरिएको छ । यो अवधिभित्र अवैध कारोवार, लागूपदार्थ ओसारपसार समेत भइरहेको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले वैशाख २४ गते लागूऔषध व्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कालिकोटको शुभकालिका गाउँपालिका-६ कि २६ वर्षीया सकुन्तला शाही, १९ वर्षीय पारस रावल र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-मसुरीखेत बस्ने १८ वर्षीय समीर चन्द रहेका छन्।कोरोनाको भयावह अवस्थामा पनि अवैध कारोवार भने कम हुन सकेको छैन । सरकारले निषेधाज्ञाको अवधिभित्र निर्माणको काम, अत्यावश्यक वस्तुको ढुवानीमा रोक लगाएको छैन । अत्यावश्यक सामाग्री भित्राउने नाममा व्यापारीले अवैध सामग्री भित्राइरहेको समेत पाइएको छ।

तथ्यांक अनुसार प्रहरीले वैशाख १५ गते यता अवैध सामग्रीसहित वीरेन्द्रनगरका ३ जना व्यापारीलाई नियन्त्रणमा लिएको छ भने ७ वटा लागू औषधको मुद्दामा ११ जनालाई पक्राउ गरेको छ। जसमा २ जना महिला रहेका छन् भने ९ जना पुरुष रहेका छन् । उनीहरूबाट १३ दशमलव ३४० मिलिग्राम लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए।लागूऔषधको कारोवार सुर्खेतमा यस अघि पनि हुने गरेको तर निषेधाज्ञाको समयमा धेरै मानिस पक्राउ परिरहेको डिएसपी घर्तीले बताए । ‘निषेधाज्ञामा कि मानिस काम विशेषले घर बाहिर निस्किन्छन्, केही बदमास भने अवैध काम गर्न निस्केको पाइयो,’ उनले भने, ‘यो समयमा सडकमा मानिस कम हुने भएकाले को सही, को गलत भन्ने प्रहरीलाई छुट्याउन सहज भएकाले पनि धेरैजना पक्राउ परेका छन् । पक्राउ परेका सबैजसोले आफैले सेवन गरेको पाइयो।’निषेधा

ज्ञाको समयमा अत्यावश्यक वस्तु भनी केही गलत नियतका व्यापारीले अवैध सामाग्री भित्राएको पाइएको उनले बताए । ‘नाकामा चेकजाँच गर्दा भन्सारबाट सबै बिल अन्य कागज ठिक ल्याइएको हुन्छ,’ उनले भने, ‘ट्रकको बाहिर अन्य सामग्री हालेर भित्र अवैध सामग्री हालेको पाइएको छ । हामीलाई जानकारी भएसम्म सबैलाई अनुसन्धान गरिरहेका छौँ ।’मालवाहक गाडीको सबै सामान झारेर चेकजाँच गर्न नसकिने भन्दै घर्तीले सामाग्री चेकजाँच गर्ने आधुनिक वस्तु, सूचना दिने व्यक्तिको कमी भएकाले अझै धेरै पक्राउ पर्न बाँकी रहेको बताए । सुर्खेतसहित कर्णाली प्रदेशका १० वटै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सुर्खेतमा वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।