जुवाखालबाट माओवादी केन्द्रका मजदुर नेता सहित २५ जना पक्राउ

काठमाडौँ, काठमाडौँको सोह्रखुट्टे स्थित एक होटलमा जुवा खेलिरहेका २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार माओवादी केन्द्र निकट मजदुर नेता पिताम्बर गौतमले सञ्चालन गरेको होटलमा जुवा खेल्दै गरेका २५ जनलाई १० लाख ९७ हजार नगदसहित महानगरीय प्रहरी वृत सोह्रखुट्टेको टोलीले पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका–१६ स्थित सो जुवाखालबाट ३० बुक तास र जुवा खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाइन पनि प्रहरीले बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालक पिताम्बर गौतम, भारतीय नागरिक कानु प्रधान, काठमाडौँ घर भएकी रञ्जना ढकाल, काभ्रेका पुरुषोत्तम न्यौपाने, महोत्तरीका मनोज कुमार मण्डल र बझाङका उमेश बिक लगायत २५ जना छन् ।