देउवाले बोलाए पदाधिकारी बैठक

विपक्षी दलसँगको छलफल सर्‍यो

काठमाडौँ,प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।सभापति देउवाले बुढानिलकण्ठस्थित निवासमा दिउँसो ३ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ २ अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि देउवाले यसबारे तयारीका लागि बैठक डाकेका हुन्।योसँँगै विपक्षी दलका नेताहरुसँगको छलफल पनि सरेको छ । सभापति देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न बुढानिलकण्ठमै आज दिउँसो २ बजे नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी नेपाल जसपा लगायत दलहरूका शीर्ष नेतालाई छलफलका लागि बोलाएका थिए । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने एमालेकै माधवकुमार नेपाल पक्षका नेतालाई समेत बोलाइएको छ।

अब पदाधिकारीको बैठकपछि विपक्षी दलका नेताहरुसँग छलफल गर्ने तयारी गरिएको छ।सोमबार प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको प्रस्तावमा ९३ मत मात्र खस्यो भने विपक्षमा १२४ मत खसेको थियो । २३२ सांसदहरु सहभागी भएको मतदानमा तटस्थमा भने १५ मत खसेको थियो । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । बहुमत गुमाएसँगै ओली स्वतः पदमुक्त भएका छन् ।