उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाडौँ,उपत्यकामा पुनः निषेधाज्ञा थप्ने तयारी भईरहेको छ। बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै निषेधाज्ञाबारे निर्णय लिन मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ।

मुलुकभर कोरोनाको सङ्क्रमण बढ्दै जाँदा उपत्यका थप प्रभावित हुँदै गएकाले निषेधाज्ञा लम्ब्याउनुपर्ने आवश्यकता देखिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन्। सोमबार बसेको जिल्लास्थित कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको थियो।

यसअघि वैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक साता निषेधाज्ञा जारी गरिएको थियो। त्यसपछि थप कडाइ गर्दै पुन अर्को एक साता आदेश थप भएको थियो । यही २९ गते रातिबाट उक्त आदेशको समय सकिन लागेकाले पुनः थप गर्ने तयारी गरिएको हो । पछिल्लो समयमा उपत्यकामा दैनिक झण्डै चार हजारको हाराहारीमा सङ्क्रमित भेटिँदै आएका छन्।