ओलीलाई सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’

काठमाडौँ, नेकपा (एमाले) नेपाल-खनाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो समूहको माग सम्बोधनका लागि सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ दिएको छ ।आइतबार अपराह्न सिंहदरबारमा बसेको नेपाल-खनाल समूहका सांसदहरुको बैठकले २०७५ जेठ २ अनुसार पार्टी फर्काउने र आगामी दिनमा पार्टी सहमतिमा चलाउने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्मको समय दिने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।

उक्त समयमा पनि आफूहरुको मागको सुनुवाइ नभए आफूहरु प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न नसक्ने उनले संकेत गरे।

आफूहरुका दुईवटा माग पार्टी एकतापूर्व २०७५ जेठ २ को अवस्थामा फर्किने र सहमतिका साथ अघि बढ्ने अवस्थामा संसदमा प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्ने आफूहरु तयार रहेको उनले बताए।

उनले भने, ‘सांसदहरुलाई भोलि बिहान साढे नौ बजे संसद सचिवालयमा बोलाएका छौँ। त्यतिबेलासम्म हामी पर्खिन्छौँ। त्यसपछि निर्णय लिन्छौँ।’

बैठकले पार्टी एकतालाई जोगाउन र त्यसको रक्षा गर्ने दायित्व पार्टी अध्यक्षको भएको हुँदा यसलाई अध्यक्षले गम्भीरताका साथ पूरा गर्नुभएको छैन भन्ने निष्कर्ष निकालेको छ ।

बैठकले पार्टी एकताका लागि गम्भिरताका साथ अगाडि बढ्न पार्टी अध्यक्षलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराएको उनले बताए ।

त्यसैगरी बैठकले पार्टी अध्यक्ष ओलीले जारी गरेको वक्तव्यमा पार्टीको एउटा पक्षलाई वाञ्छित गर्ने खालका केही शब्दहरु समावेश भएकोप्रति चिन्ता व्यक्त गरेको छ ।