बहिष्कारबीच संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ,संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको छ।परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा आइतबार बैठक बसेको हो।आजको बैठकमा प्रधानमन्त्री ओलीसहित राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जवरा पनि सहभागी भएका छन्।

सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने बैठक बहिस्कार गरेका छन्।बैठकले लोकसेवा आयोग,अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, समावेशी आयोगलगायतका संवैधानिक आयोगहरुमा पदाधिकारी रिक्त पदपूर्ति गर्ने तयारी गरेको छ।

संविधानअनुसार परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहन्छन् भने सदस्यमा सभामुख,उपसभामुख,राष्ट्रिय सभाका अध्यक्ष,प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता सदस्यका रूपमा रहन्छन् । जसमा अध्यक्ष र तीन सदस्य अर्थात् चारजना उपस्थित भएमा मात्र गणपूरक संख्या पुग्ने व्यवस्थालाई परिवर्तन गरी तीनजना मात्रै भए निर्णय वैध हुने व्यवस्था नयाँ अध्यादेशमा छ ।