बालुवाटारमा एमालेका शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ,नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शीर्ष नेताहरुलाई बालुवाटार बोलाएका छन्।वाग्मती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन स्थायी कमिटीका नेताहरुलाई छलफलका लागि प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएको स्रोतले जनाएको छ।एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने तयारी गरेको थियो।

तर, उनको प्रतिद्धन्द्धीमा एमालेकै डा खिमलाल देवकोटालाई नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले साझा उम्मेदवार बनाउने भएपछि बादल चुनाव लड्न हच्किएका छन्। त्यसपछि एमालेले उम्मेदवार तय गर्न सकेको छैन। निर्वाचन आयोगले उपनिर्वाचनको उम्मेदवारको मनोनयनका लागि आज १० बजेदेखि अपरान्ह ४ बजेसम्म समय तोकेको छ।

यसैबिच वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेतालाई गरेको कारवाही फिर्ता लिनेबारेमा एमालेभित्र छलफल भएको समेत भएको छ। ओलीसँग असन्तुष्ट रहेको नेपाल पक्षले चुनावमा असहयोग गर्ने सम्भावना बढेपछि कारवाही फिर्ता लिने तयारी गरिएको बुझिएको छ।ओली पक्षले नेता नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई गत चैतमा कारवाही गर्दै ६ महिना पार्टीबाट निलम्बन गरेका थिए।