सुर्खेतमा अलपत्र परेका दैलेखका सुनार दम्पतीको उद्धार

सुर्खेत,दैलेख नौमुले गाउँपालिका-४ का तुलवीर सुनार दम्पती सुर्खेतमा अलपत्र परेका थिए।गाँउ जाने गाडी भाडा नपाएर उनिहरु अलपत्र परेका हुन्। एक महिना अघि घाँस काट्ने क्रममा लडेर दाँया खुट्टामा चोट लागेर थला परेकी श्रीमतीलाई दैलेख जिज्ला अस्पतालमा उपचार सम्भव नभएपछी लकडाउनकै विच चार दिन अघि श्रीमतीलाई सुनारले प्रदेश अस्पताल सुर्खेत ल्याईपुर्याएका थिए।

कारोनाको कहर देखाउदै प्रदेश अस्पतालले पनी उनिहरुलाई उपचार गर्न नमानेपछी घर फर्कन तयार भएर सुर्खेत बसपार्क आएको सुनारले वताए।तर बसपार्कमा भएका गाडीवालासंग सितैमा दैलेख वजारसम्म लिन अनुरोध गर्दापनि नमानेपछी उनिहरु सडकको छेउमा टोलाईरहेका थिए।उनिहरु निरास भएको देखेर पुजा सब्जी मण्डी सुर्खेतकी संचालक पुजा सिंहले उद्धार गरेकी छन्।

सिंहले दैलेख वजारसम्म जान लाग्ने भाडा सहयोग गरी उनिहरुलाई दैलेखसम्म पठाएकी हुन्।दैलेख वजारदेखि उनिहरुको घर पुग्न ५ घण्टा लाग्ने भएकोले त्यसको व्यवस्था समेत गरिदिने वताएकी छन्।लकडाउनको यस्तो परिस्थितीमा सुनार दम्पतीको लागि सिंह मानवरुपी भगवानको रुपमा सावित भईन्।