माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ताको पत्र बुझाउँदै

काठमाडौँ,नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको पत्र संसद सचिवालयमा आज बुझाउने भएको छ।

स्थायी समिति बैठकको निर्णय अनुसार केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी पत्र बुधबार अपरान्ह संसद सचिवालयमा बुझाउन लागेको स्थायी समिति सदस्य लीलामणि पोखरेलले जानकारी दिए। माओवादी केन्द्रले सर्मथन फिर्ता लिएसँगै सरकार अल्पमतमा पर्नेछ।

सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता बदर गरी नेकपा (एमाले) र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा ब्यूँताइदिएलगत्तै माओवादीले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने आवाज संसद्मै उठाएको थियो। प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसद्बाट विश्वासको मत लिन लागेका छन्। त्यसका लागि सो दिन अपराह्न १ बजे बैठक बोलाइएको छ।