भक्तपुरमा आमाछोरी अचेत अवस्थामा फेला

एक जनाको मृत्यु

काठमाडौं,भक्तपुरमा एकै परिवारका तीन जना अचेत अवस्थामा फेला परेका छन्। तीमध्ये एक जनाको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको छ।मृत्यु हुनेमा काभ्रे तिमाल गाउँपालिका ३ की २२ वर्षीया सुनिता तामाङ रहेकी छिन्। उनी हाल सुर्यबिनायक नगरपालिका १० मिलनचोकमा डेरा गरी आमा र बहिनीसँग बस्दै आएकी थिइन्।

अचेत अवस्थामा फेला परेकी आमा ४० वर्षीया शान्तिमाया तामाङ र बहिनी १८ वर्षीया अनिता तामाङको अहिले मध्यपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।घटना आइतबार राति ११ बजेको हो।प्रहरीका अनुसार अनिता सोही दिन सुत्केरी भएकी थिइन्।

सुत्केरी सेक्न कोठामा कोइला बालिएको थियो। कोठा सम्पूर्ण झ्याल ढोका भित्रबाट बन्द रहेकाले अक्सिजन अभावका कारण सो घटना घटेको प्रहरीले वताएको छ।घटनामा बेहोस भएका २ जनाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको तर राम्ररी बोल्न सक्ने अवस्थामा भने नरहेको अस्पतालले प्रहरीलाई जानकारी दिएको छ।