मुख्यमन्त्री पोखरेलको नियुक्तिविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्छौंः चार दल

बुटवल,लुम्बिनी प्रदेशमा अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको भन्दै विपक्षी दलहरुले कानूनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् ।माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्रीमा शंकर पोखरलको नियुक्ति असंवैधानिक, अलोकतान्त्रिक र तानाशाहीको पराकाष्ठा भएको बताएका छन्।

विपक्षी गठबन्धनले अल्पमतको मुख्यमन्त्रीलाई स्वीकार नगर्ने बताउंदै केन्द्रको निर्देशन अनुसार थप राजनीतिक कदम चाल्ने बताएका छन्।४२ सांसदको हस्ताक्षरसहित सरकारमा दावी पेश गर्दागर्दै ३७ जना सांसदको मात्रै समर्थन भएका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुले लोकतन्त्रको हत्या र उपहास भएको विपक्षी गठन्धनले बताएको छ ।

‘केन्द्रमा ओलीको तानाशाही, अधिनायकवादी नमूना लुम्बिनी प्रदेशमा शंकर पोखरेलले देखाउनुभयो, यसविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्छौं, ’ नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले भने, ‘हिजोको घटना अराजनीतिक र निकृष्ट घटना हो, संविधान मिचेर गरिएको नियुक्तिले अराजकता बढायो,यो सामान्य विषय होइन ।’नेता कनौडियाले पोखरेल नेतृत्वको सरकारलाई धेरै दिन टिक्न नदिने चेतावनीसमेत दिए। ‘संसदबाट कति दिन भाग्नुहुन्छ रु नीति, कार्यक्रम र बजेट ल्याउनु छैन र हामी पराजित गर्छौं ।’ मुख्यमन्त्रीले राजीनामा दिएर ग्राण्ड डिजाइन र षडयन्त्र अनुसार संसद छल्ने नाटक गरेको कनौडियाले बताए ।

डिआईजीलाई निलम्बन गर्न माग

मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख रबिन्द्र धानुकले बल प्रयोग र महिला हिंसा गरेकाले उनलाई निलम्वन गर्न उनले माग गरे।डीआईजी धानुक आफैं प्रत्यक्ष संलग्न भएर महिलालाई हातपात र दुर्व्यवहार गरेकाले निलम्बन गर्नुपर्ने विपक्षीको माग छ । धानुकविरुद्ध कानूनी उपचार पनि खोज्ने नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले बताइन् ।