पोखरेलको सपथ रोक्न ४० सांसदले दिए निवेदन

काठमाडौं,मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरिरहेको समयमा प्रदेशसभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ नगराउन माग गरेका छन्।

नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,जसपा नेपाल लगायतका सांसदले प्रदेश प्रमुखलाई आइतबार दिउँसो भेटेर एकल बहुमतको सरकार गठनको कुनै सम्भावना नरहेको भन्दै ४० सांसदको हस्ताक्षरसहितको लिखित निवेदन दिएका छन्।८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद रहेको भनिए पनि उपनिर्वाचनबाट विजयी सांसद विमला वलीले आफू नेकपा माओवादी केन्द्रमा जाने प्रस्ट पारेपछि एमालेको पक्षमा ४० सांसद सीमित रहेको छ।

यता, माओवादी केन्द्रका नेता कुलबहादुर केसीले आफूलाई मुख्यमन्त्री बनाउनुपर्ने दाबी गर्ने तयारी गरेका छन् । यसअघि पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा केसीको नाम अर्को मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको थियो।