भारतमा कोरोना कहरः आइपिएल बीचमै खेल छाडेर जान थाले खेलाडी

काठमाडौं,इन्डियन प्रिमियर लिग (आइपिएल)को १४ औँ सिजन भारतमा जारी रहेको छ। तर, पछिल्लो पटक खेलाडीहरू एकपछि अर्को गरी बीचमै आइपिएल छोडेर घर फर्किरहेका छन्।भारतका कोरोना तीव्र गतिमा फैलिरहेको छ। जस कारण पनि खेलाडीहरू आफ्नो देश फर्किरहेका छन्। उनीहरू व्यक्तिगत कारण भन्दै कोरोनाकै डरले घर फर्किरहेका हुन्।पछिल्लो पटक रोयल च्यालेन्जर्स बैंग्लोरका दुई महत्वपूर्ण खेलाडी स्वदेश फर्किएका छन्। स्पिनर एडम जम्पा र तीव्र गतिका बलर केन रिचडर्सन आफ्नो देश अष्टेलिया फर्किएका हुन्।

व्यक्तिगत कारण देखाउँदै आइपिएलका बाँकी म्याच नखेल्ने निर्णयका साथ उनीहरू स्वदेश फर्किएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जारी सिजनमा रिचडर्सनले एक म्याचमा प्लेइङ–११ मा मौका पाउँदा जम्पा भने पाँचै म्याचमा बेन्चमै बसेका थिए।आइतबार राति मात्रै राजस्थान रोयल्सका एन्ड्रयू टायले आइपिएलमा बाँकी म्याच नखेल्ने निर्णय गरेका थिए। व्यक्तिगत कारण देखाउँदै उनी आफ्नो देश फर्किएको राजस्थान रोयल्सले पुष्टि गरेको छ।जारी आइपिएल सिजन बीचमै छोडेर आफ्नो देश फर्किने टाय राजस्थानका तेस्रो विदेशी हुन्। फल्डिङका क्रममा घाइते भएपछि इंग्ल्याण्डका बेन स्टोक्स यसअघि नै स्वदेश फर्किसकेका छन्।

स्टोक्सपछि इंग्ल्याण्डकै लियाम लिभिङस्टोन पनि बायो–बबल थकानका कारण आफ्नो देश फर्किएका थिए। राजस्थानका मुख्य बलर जोफ्रा आर्चर आइपिएल खेल्न भारत नै आएनन्।शल्यक्रियाका कारण उनी अहिले इंग्ल्याण्डमै छन्। उनी यसअघि नै आइपिएलबाट बाहिरिसकेका थिए। राजस्थानले जारी सिजनमा पाँच खेल खेलेको छ। टायले अहिलेसम्म प्लेइङ–११ मा मौका पाएका थिएनन्।

पछिल्लो सिजनमा उनले एक म्याचमा मौका पाएका थिए। जसमा उनले ४ ओभरमा ५० रन खर्चिएर एक विकेट लिएका थिए।अब राजस्थानसँग चार मात्र विदेशी खेलाडीहरू बाँकी छन्। जसमा जोस बटलर, क्रिस मोरिस, डेविड मिलर, मुस्तफिजुर रहमान छन्।

आश्विन पनि घर गए

आइपिएल टिम दिल्ली क्यापिटल्सलाई ठूलो झड्का लागेको छ। टिमका अनुभवी बलर रविचन्द्रन आश्विन घर फर्किएका छन्।उनले जारी आइपिएलका बाँकी खेलहरू नखेल्ने भएका छन्। आफ्नो परिवार कोरोनासँग जुधिरहेकाले बीचैमा आइपिएल छोड्ने परेको उनले ट्विटमार्फत जानकारी दिएका हुन्।

दिल्ली टिम हाल चेन्नईमा छ। आश्विन पनि चेन्नईका हुन्। उनी सोमबार आफ्नो घर फर्किएका छन्। आश्विनले कोभिड–१९ सँग लडिरहेको आफ्नो परिवारलाई सहयोग पुर्‍याउन आइपिएलबाट आफ्नो नाम फिर्ता लिएको बताए।ट्विटरमा उनले लेखेका छन्, ‘म यस वर्ष आइपिएलबाट मेरो नाम फिर्ता लिएको छु। मेरो परिवार कोरोनासँग लड्दै छ। म पनि यो कठिन समयमा परिवारलाई सहयोग गर्न चाहन्छु। मलाई आशा छ कि यदि सबै ठीक भयो भने म फर्केर आउन सक्छु, धन्यवाद।’

आश्विनले जारी आइपिएलमा दिल्लीका लागि पाँचै खेलमा भाग लिएका थिए। जसमा उनको प्रदर्शन खास थिएन। पाँच खेलमा उनले एक विकेट मात्र लिन सकेका थिए।दिल्लीले गएराति सनराइजर्स हैदराबादविरुद्ध ‘सुपर ओभर’मा जित निकालेको थियो। उपाधि दाबेदार दिल्लीले यस सिजनमा पनि राम्रो प्रदर्शन गरिरहेको छ।दिल्लीले पाँच म्याचमा चारमा जित र एक खेलमा मात्र हारको बेहोरेको छ। दिल्लीले आफ्नो छैटौँ खेल २७ अप्रिलमा बैंग्लोरसँग खेल्दै छ। एकपछि अर्को खेलाडीले नाम फिर्ता लिँदै स्वदेश फर्किन थालेपछि टिमहरू समस्यामा पर्ने देखिएको छ।