एकताको पक्षमा लाग्न नेता नेपालको आग्रह

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको रक्षा,सत्य,न्याय,समृद्धि र नेकपा एमालेको एकताको पक्षमा लाग्न कार्यकर्ता र शुभचिन्तकलाई आग्रह गरेका छन्।

सोमबार मनमोहन अधिकारीको २२औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै नेपालले मुलुक र कम्युनिस्ट आन्दोलनमा अधिकारीको योगदान अतुलनीय भएको बताएका छन्।अधिकारीले नौ महिना सरकारको नेतृत्व गर्दा अवलम्बन गरेका नीतिको दीर्घकालीन परिणामले जनतामा उनीप्रतिको श्रद्धा कहिलै नमेटिने उल्लेख गरे।

जनताले ठूलो मौका दिएको कम्युनिस्ट सरकारबाट विकृति र विसंगतिहरूलाई प्रश्रय दिने काम हुनु, सामान्य किसान र गरिब परिवारले राहतको महसुस गर्न नसकेको अवस्थामा स्वर्गीय अधिकारीको अभाव झन् धेरै खड्किएको बताए ।