आज मन्त्रिपरिषद् बैठक बस्दै

‘लकडाउन’बारे निर्णय गरिने

काठमाडौँ,मन्त्रिपरिषदको बैठक आज बस्दैछ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह पाँच बजे बस्न लागिएको मन्त्रिपरिषद बैठक कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा केन्द्रित हुने जनाइएको छ।

आजको बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को सिफारिसमा छलफल तथा निर्णय हुनेछ।आइतबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोना भाइरसको बढ्दो संक्रमणका कारण कम्तीमा तीन साता देशभर लकडाउन गर्ने तथा पहाडमा २०० जना र शहरी क्षेत्रमा ५०० जना सक्रिय संक्रमित भेटिएमा निषेधाज्ञा जारी गर्न सक्ने गरी मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ।

यस्तै, भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने, भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सिफारिससमेत गरेको छ।सीसीएमसीले गरेका सिफारिस मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि लागू हुनेछ।