अदालतको आदेश विपरित पत्रकारलाई गिरफ्तार

काठमाडौँ,अदालतको आदेशविपरित उज्यालो नेटवर्कका दुई पत्रकार पक्राउ परेका छन्। बैशाख ९ गते उच्च अदालत पाटनले उज्यालो नेटवर्कका पत्रकारमाथि धरपकड नगर्न अन्तरिम आदेश समेत दिएको थियो। तर, प्रहरीले आज उज्यालो अनलाइनका पत्रकार अनिश तामाङ र डिएल लामालाई पक्राउ गरेको छ।

काठमाडौँ प्रहरी परिसरका प्रमुख अशोक सिंहले भने पत्रकार तामाङ र लामाविरुद्ध फौजदारी अभियोगमा मुद्धा लगाउने तयारी भैरहेको वताए।‘अदालतबाट उनिहरुले स्टे अर्डर ल्याए पनि फौजदारी अभियोगमा समातिएको प्रहरीले वताएको छ। अस्तिको मुद्धा र आजको घटना फरक हो’, उनले भने।

उज्यालो अनलाइनले बैशाख २ गते ‘रअ प्रमुख र ओलीबीच लिपुलेकको कुरा नउठाउनेदेखि एमसीसीमा मोदीले सघाउनेसम्मको सहमति (पत्रसहित)’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । उक्त समाचार सम्प्रेषण भएलगत्तै प्रहरीले उज्यालो नेटवर्कको कार्यालयमा छापा मारेको थियो । प्रहरीको खानतलासीपछि कार्यालय बन्द गरेर संचालक र सम्पादक सम्पर्कबिहीन भएका थिए।

प्रहरीको धरपकडविरुद्ध उज्यालो नेटवर्कका तर्फबाट अनिलकुमार राउतले उच्च अदालत पाटनमा रिट हालेका थिए । निवेदकको मागबमोजिम अदालतले धरपकड नगर्न अन्तरिम आदेश दिएको थियो ।