नेपालको पोल्टामा त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधि

काठमाडौं,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डलाई १४२ रनले हराउँदै नेपालले उपाधि हात पारेको हो।टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड १७।२ ओभरमा पुरै विकेट गुमाएर ९६ रनमै समेटियो।

नेदरल्याण्डका लागि म्याक्स ओडाडउडले २० रन जोडे । टाविस भिसा २ रनमै आउट भए। बिन कपुरले ७, बास डे लिडाले १, स्कट इड्वार्डले ५ रन जोडे । यस्तै, एन्टोन्युस स्टाल शून्यमै आउट भए । पिटार सेलारले १३, सेबस्टियान ब्राटले २६, पल भ्यान मिकिरनले ५, फिलिपे बोइसरिनले ७ र भिभिन किंगमाले ४ रन जोडे।नेपालका लागि करन केसीले तीन विकेट लिए । कमलसिंह ऐरी र सन्दीप लामिछाने समान दुई दुई विकेट लिए । अविनाश बोहराले एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन बनाएको थियो।नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रनको योगदान गरे। उनको यो सिरिजमा चौथो अर्धशतक हो। कुशल मलले पनि अर्धशतक प्रहार गरे। उनले ५० रन जोडे । अर्का ओपनर आसिफ शेखले भने १६ रनमै आउट भए। कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन बनाए । दिपेन्द्रसिंह ऐरीले ४८ रन बनाए।

नेदरल्याण्डका लागि फिलिपे बोइसरिनले दुई विकेट लिए। सेबस्टियान ब्राटले एक विकेट लिए।टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो अहिलेसम्मकै ठूलो योगफल हो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो ।